डिम्याट र मेरो सेयर खाता कसरी खोल्ने — पूरा प्रक्रिया
सेयर बजारमा पहिलो पाइला डिम्याट खाता खोल्नु हो। तर धेरै नयाँ लगानीकर्ता यहीँ अल्मलिन्छन् — डिम्याट, मेरो शेयर र TMS फरक-फरक कुरा हुन् भन्ने नै थाहा हुँदैन। यो लेखमा म पूरा प्रक्रिया क्रमैक्रमले, आफ्नै अनुभवसहित सरल भाषामा राख्दै छु।
सुरु गर्नुअघि एउटा कुरा स्पष्ट पारौँ। सेयर किन्न र बेच्न तीनवटा फरक कुरा चाहिन्छ: डिम्याट खाता (सेयर डिजिटल रूपमा राखिने खाता), मेरो शेयर (IPO भर्ने र सेयर हेर्ने अनलाइन प्रणाली), र TMS/ब्रोकर खाता (सेकेन्डरी मार्केटमा किनबेच गर्ने प्लेटफर्म)। यी तीनै नभई तपाईंको लगानी यात्रा अधुरो रहन्छ।
धेरैले सोच्छन् — "एउटै ठाउँमा सबै हुँदैन?" व्यवहारमा यी फरक-फरक निकायले चलाउँछन्। डिम्याट DP ले, मेरो शेयर र सम्पूर्ण अभिलेख CDSC ले, र किनबेच NEPSE का ब्रोकरले। त्यसैले तीन ठाउँमा दर्ता गर्नुपर्ने हो। एक पटक क्रम बुझेपछि भने यो निकै सजिलो छ।
सुरुमा मलाई सेयर बजारको केही थाहा थिएन — demat को spelling सम्म थाहा थिएन। मामाले "demat बनाऊ" भन्नुभएपछि म सोझै बैंकमै गएर बनाएँ। पछि YouTube हेरेर र Google मा "कुन बैंकले ASBA/CASBA शुल्क लिँदैन" भनेर आफैं खोजेपछि मैले राष्ट्रिय वाणिज्य बैंक छानेँ।
अनि IPO भरेँ, पर्यो पनि। तर बेच्न त TMS चाहिँदो रहेछ — त्यो पनि मैले आफैं खोजेर थाहा पाएँ। त्यसपछि अनलाइनबाटै एउटा ब्रोकरमा TMS खाता खोलेँ। यो सबै अलमल एक हप्तामा सकिन्थ्यो, यदि मलाई सुरुमै कसैले क्रम बताइदिएको भए। त्यही क्रम अब म तपाईंलाई दिँदै छु।
क्रमैक्रमको पूरा प्रक्रिया
पहिले डिम्याट खाता खोल्नुहोस्
कुनै पनि बैंक वा ब्रोकर (DP — Depository Participant) मा गएर डिम्याट खाता खोल्नुहोस्। नागरिकता, फोटो र बैंक विवरण लिएर जानुहोस्। शुल्क कम चाहनुहुन्छ भने "ASBA/CASBA शुल्क कति लाग्छ" भनेर सोध्नुहोस् — DP अनुसार फरक पर्छ।
मेरो शेयरमा दर्ता गर्नुहोस्
डिम्याट खुलेपछि meroshare.cdsc.com.np मा दर्ता गर्नुहोस्। यहाँबाट तपाईं IPO भर्न, आफ्नो पोर्टफोलियो हेर्न र सेयर बेच्दा EDIS गर्न सक्नुहुन्छ। दर्ता गर्दा DP ले दिएको DP ID, Username चाहिन्छ।
TMS (ब्रोकर) खाता खोल्नुहोस्
सेकेन्डरी मार्केटमा किनबेच गर्न ब्रोकरमा TMS खाता चाहिन्छ। धेरै ब्रोकरले अहिले अनलाइनबाटै खाता खोल्न दिन्छन् — घरै बसेर डिम्याट नम्बर, नागरिकता र बैंक विवरण अपलोड गरेर। ब्रोकर नम्बर (जस्तै Broker 35) याद राख्नुहोस्।
बैंक खाता जोड्नुहोस् र सुरु गर्नुहोस्
तीनै खातालाई आफ्नो बैंक खातासँग जोडेपछि तपाईं तयार हुनुहुन्छ। पहिलो पटक IPO भरेर अभ्यास गर्नुहोस्, अनि क्रमशः सेकेन्डरी मार्केटतिर जानुहोस्।
यो पूरा प्रक्रियामा सामान्यतया केही दिनदेखि एक हप्ता लाग्छ — कागजात मिलेको र DP ले छिटो प्रक्रिया गरेको भए। मेरो अनुभवमा सबैभन्दा धेरै समय ब्रोकर छान्ने र TMS को approval कुर्नमै गएको थियो। त्यसैले हतार नगरी, एक-एक पाइला पूरा गर्दै जानुहोस्।
कति खर्च लाग्छ?
खाता खोल्न र चलाउन लाग्ने अनुमानित शुल्क तल दिइएको छ। यी CDSC ले तोकेका आधारभूत शुल्क हुन्, तर DP (बैंक/ब्रोकर) अनुसार केही फरक पर्न सक्छ।
| शुल्क | अनुमानित रकम | कहिले |
|---|---|---|
| डिम्याट खाता खोल्ने | नि:शुल्क – रु. १००* | एक पटक |
| डिम्याट वार्षिक नवीकरण | रु. १०० | हरेक वर्ष |
| मेरो शेयर दर्ता | रु. ५० | एक पटक |
| मेरो शेयर नवीकरण | रु. ५० | हरेक वर्ष |
| DP शुल्क (बेच्दा) | रु. २५ प्रति कम्पनी | बेचेको दिन |
के-के कागजात चाहिन्छ?
खाता खोल्न जानुअघि यी कुरा तयार पारेर लैजानुहोस् — नभई फेरि फर्किनुपर्ने हुन्छ।
- नागरिकताको प्रमाणपत्रको फोटोकपी
- पासपोर्ट साइज फोटो (१–२ प्रति)
- बैंक खाताको विवरण (खाता नम्बर, बैंक/शाखा)
- मोबाइल नम्बर र इमेल (मेरो शेयर/TMS का लागि)
- नाबालिगको हकमा — बाबु/आमाको नागरिकता र जन्मदर्ता
बारम्बार सोधिने प्रश्न
डिम्याट, मेरो शेयर र TMS फरक-फरक हुन्?
IPO मात्र भर्न पनि TMS चाहिन्छ?
एकभन्दा बढी डिम्याट खाता राख्न मिल्छ?
नाबालिगको नाममा खाता खुल्छ?
हरेक वर्ष नवीकरण नगरे के हुन्छ?
अनलाइनबाटै सबै खाता खोल्न मिल्छ?
शून्यदेखि सफल लगानीकर्तासम्म
डिम्याट खोल्नु त सुरुवात मात्र हो। सेयर price किन बढ्छ-घट्छ, beginner का गल्ती, trader vs investor — पूरा यात्रा मेरो पुस्तकमा सरल नेपालीमा।
पुस्तक हेर्नुहोस् →